
दाङ : लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्। मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।
माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। माओवादी संसदीय दल नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको जानकारी दिए। चौधरी गत वैशाख १४ गते नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको विश्वासको मत दिएका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्।