केपी ओली प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसेका छन् : मेटमणि चौधरी

२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।

‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’ उनले भने ।

नेता चौधरीले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरूलाई मुलुकको राजनीतिको मूलधारबाट सीमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उहाँकै कारणले, उहाँबाहेक अरू कोही होइन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरूलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’– नेता चौधरीले भने ।

अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्स नयाँ ढङ्गले अगाडि बढ्ने उनको दाबी छ ।  प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरूलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरू राफसाफ गर्ने मनसाय राखेको उनको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए ।

‘उहाँको आफ्नो मनसाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरू राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’– उनले भने । केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसेको उनको भनाइ छ । नेता चौधरीले ओलीले साँवा मात्रै राफसाफ मात्रै नभएर ब्याज र हर्जानासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार