काठमाडौं : नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा नेपाल समाजवादी पार्टी (नेसपा)भित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष महिन्द्र राय यादवसँग सल्लाह नगरी चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाएको भन्दै महिन्द्र पक्षधरले विरोध गरेका हुन् । बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको जानकारी गरेका छन् । ‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’, विज्ञप्तिमा उल्लेख छ ।






