सपुतको गीत ‘गलबन्दी च्यातियो…’ मा प्रधानमन्त्री प्रचण्डको नृत्य

२०८० चैत्र ४, आईतवार

लेखनाथ : गायक प्रकाश सपुत आइतबार दिउँसो आफ्नै प्रदेश गण्डकीको राजधानी पोखरामा प्रस्तुति राख्दै थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उनले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिए।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सपुतले प्रधानमन्त्री दाहाल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई स्टेजमा आमन्त्रण गर्दै नृत्य गर्न आग्रह गरे। आग्रहपछि सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो…’ मा अतिथिले नृत्य गर्दा पोखरेली दर्शकसमेत नाचेका थिए।

कार्यक्रममा गायक सपुतसँगै पोखरासँग सम्बन्धित गीत गाएका गायकले गीत सुनाए। गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीत सुनाए भने धर्मेन्द्र सेवानले ‘रेशम फिरिरी’ सुनाएर अग्रज गन्धर्व गायकको सम्झना गराए। सरुभक्तको शब्द रहेको ‘हङकङ पोखरा’ गीत सुनाउँदै विवेक श्रेष्ठले गीतले देश विदेशमा भएका नेपालीलाई जोड्ने विचार राखे। सो अवसरमा नेपाली साहित्य र भाषामा उल्लेख्य योगदान गरेकोमा प्रा.डा. मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ।

कार्यक्रममा ‘पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ गीतका गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’ र भूगोलविद् डा. हर्क गुरुङलाई समेत मरणोपरान्त सम्मान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार