महरालाई अस्पतालमा बस्न दिन अदालतको आदेश, खान्छन् ८ प्रकारका औषधि

२०८० चैत्र ५, सोमबार

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई अस्पतालमा बस्न दिन आदेश दिएको छ ।

महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएका थिए । सोहीअनुसार अदालतले आवश्यकताअनुसार अस्पतालमा बस्न दिन प्रहरीलाई आदेश  दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ। अदालतको आदेशअनुसार महराले केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा नबसेर नर्भिक अस्पतालमा बस्ने तयारी गरेका छन् ।प्रतिनिधिसभाको पूर्वसभामुख समेत रहेका महरा सुन तस्करी प्रकरणमा मुछिएपछि सोमबार रुपन्देहीबाट पक्राउ परेका थिए ।

पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराएकामा उनीमाथि अनुसन्धान गर्न सीआईबीले ४ दिनको म्याद दिएको छ । तर न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासमा महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको बताएका थिए । सोहीअनुसार अदालतले अस्पतालमा उपचार गराउन आदेश दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले काठमाडौँ ल्याइएसँगै महरामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार