काठमाडौँ : सुन तस्करीमा संलग्न आरोपीसँग निकट सम्बन्ध देखिएपछि गृह मन्त्रालयले लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमाकान्त अधिकारीलाई हटाएको छ ।
सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले उनलाई निगरानीमा राख्न सिफारिस गरेको आधारमा हटाइएको गृह मन्त्रालयले जनाएको छ । आयोगको सिफारिसअनुसार उनलाई शुक्रबार नै जिम्मेवारीमुक्त गरेको हो । मन्त्रालयले मंगलबार लमजुङमा सहसचिव बुद्धबहादुर गुरुङलाई खटाएको छ । गुरुङ तीन सातादेखि गृहको ‘बरन्डा’मा थिए ।
लमजुङका सिडिओ रहेका उपसचिव अधिकारी यसअघि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामै कार्यरत थिए । त्यसवेला सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग उनको दोहोरो संवाद देखिएको स्रोत बताउँछ । सोमबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनको यस विषयमा कुराकानी भएको जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
अभियुक्तहरूसँग दोहोरो संवाद देखिएपछि उनलाई हटाइएको गृहका एक अधिकारीले बताए । उनी दुई महिनाअघि मात्र लमजुङमा गएका थिए । सुन तस्करी प्रकरणमा प्रस्ट प्रमाण नभएका, तर शंकास्पद देखिएका केही व्यक्तिलाई निगरानीमा राख्न आयोगले सिफारिस गरेकोमा त्यस्ता व्यक्तिहरूलाई जिम्मेवारीमुक्तसमेत गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई जिम्मेवारीमुक्त गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।
बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डिएसपीहरू दुर्गा दाहाल र रुगम कुँवरले समेत अभियुक्तलाई जोगाउन भूमिका खेलेको देखिएको भन्दै आयोगले कारबाही सिफारिस गरेको थियो । अन्य केही अवकाशप्राप्त प्रहरी अधिकारी र बहालवाला कर्मचारीलाई समेत निगरानीमा राख्न भनिएको छ । पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा नै चलाउन सिफारिस भएको आधारमा उनी सोमबार पक्राउ परिसकेका छन् ।





