बुटवल : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको दाबी गरेका छन् ।
स्व. गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय सम्बन्धित टीआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने प्रस्ट पारे । द्वन्द्वकालीन घटनाका पीडितलाई नजरअन्दाज गर्न नसकिने भन्दै कोइरालाले अन्तर्राष्ट्रिय समुदायबाट यसबारेमा उठाइएका सवाल सुन्न माओवादी तयार छ कि छैन भन्ने प्रश्न गरे ।
कांग्रेसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले वर्तमान सरकारमा विवादित व्यक्तिहरूले पनि ठाउँ पाएको जिकिर गरे । सहकारी ठगी प्रकरणमा मुछिएर उजुरीसमेत परेका गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैको वैशाखी नटेक्ने दाबी गरे ।





