परिआए सरकारको नेतृत्व गर्न राप्रपा तयार छ : नेता थापा

२०८० चैत्र ८, बिहीबार

काठमाडौँ : बागमती प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता भन्ने विषयमा अन्यौलताको अवस्था रहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले परिआए बागमती प्रदेश सरकारको नेतृत्व लिन तयार रहेको बताएका छन्।

बिहीबार नयाँ पत्रिकासँग कुरा गर्दै नेता थापाले प्रदेशलाई अनिर्णयको बन्दि बन्न नदिने सन्दर्भमा परिआए बागमती प्रदेश सरकारको नेतृत्व गर्न समेत पछि नपर्ने बताएका हुन्। विद्यमान गठबन्धन र प्रमुख दलहरुले सरकार बनाउन सक्ने अवस्था नआए र राप्रपाले नेतृत्व गर्नुपर्छ भन्ने भए आफु पछि नहट्ने उनको दाबी छ।

‘नयाँ गठबन्धनमा आवद्ध दलहरुले मात्रै प्रदेशमा सरकार बन्ने अवस्था छैन। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेस एक्लैले पनि सरकार बनाउँन सक्दैन। यस्तो परिस्थितिमा राप्रपालाई नेतृत्व दिएर सरकार बनाउँ भन्न अवसर आए अगाडी बडिन्छ, पछि हट्दैन,’ उनले भने। नेता थपलियाले प्रदेश सरकार अनिर्णयको बन्दी बनोस भन्ने पक्षमा पनि आफुहरु नरहेको बताए। उनले आफुहरुले संघीयता र प्रदेश सरकारको विरोध गर्दै आएको भएपनि जनताले आफ्ना कुरा राख्न निर्वाचित गराएको सन्दर्भमा तत्काल प्रदेशलाई असफल बनाउने आफुहरुको ध्येय नभएको स्पष्ट पारे।

‘प्रदेशमा नेतृत्व गर्ने सबै दलका नेताहरुसँग छलफल भइरहेको छ। साच्चै प्रदेश सरकार समस्यामा पर्ने अवस्था देखियो भने त्यतिवेला राप्रपाले उचित निर्णय गर्छ, प्रदेशलाई अनिर्णयका बन्दि बन्न दिँदैनौँ,’ नेता थापाले भने। तर जो सुकैलाई समर्थन गर्नुपरेपनि आफ्ना ४० बुँदे मागका बिषयमा भने उनीहरुको प्रतिवद्धता आवस्यक हुने उनको भनाई छ। २७ चैतबाट ४० बुँदे माग पत्र सहित अहिलेको सरकारको विरोधमा आन्दोलनमा जान लागेको पार्टीले प्रदेशमा सरकारलाई समर्थन गर्नुपर्दा स्वभाविक रुपमा उनीहरुको समर्थन खोज्ने उनको दाबी छ।

बागमती प्रदेशमा नयाँ बनेको गठबन्धनसँग नयाँ सरकार गठन वा मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरता दिने दुबै अवस्थामा स्पष्ट बहुमत छैन। यस्तो परिस्थितिमा यहाँ सरकार गठन र निरन्तरताका लागी साना दलको समर्थन अनिवार्य छ। नयाँ गठबन्धनमा रहेका दलहरु एमाले, माओवादी र एकीकृत सामाजवादी भन्दा बाहेकका साना दलहरु राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी कसैले पनि तत्काल सरकारमा जाने वा समर्थन गर्न चासो नदिँदा बागमतीमा राजनितिक अन्यौलता भने गहिरिदै गएको छ।

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागी ५६ सांसदको समर्थन आवस्यक छ। अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरेर जम्मा ५५ सांसद मात्रै छन्। यस्तै प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस एक्लैसँग ३७ सांसद रहेका छन् भने राप्रपासँग १३, मजदुर किसान पार्टीसँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार