खोटाङ : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई दिनको सुत्केरी छात्राले कक्षा ९ को परीक्षा दिइरहेकी छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माविमा कक्षा ९ मा अध्ययनरत छात्रा ललिता राई सुत्केरी अवस्थामा परीक्षामा सामेल भएकी हुन् ।
गाउँपालिकामा ४ चैतबाट पालिकास्तरीय परीक्षा सुरु भएको हो । २ चैतमा सुत्केरी भएकी छात्राले नियमित परीक्षा दिइरहेको प्रधानाध्यापक पवन बस्नेतले बताए । छात्रा राई उदयपुरको लिम्चुङबुङ गाउँपालिका बाँसबोटेकी हुन् । कक्षा ८ मा पढ्दापढ्दै उनले वर्ष दिनअघि भँडारेघाटका दिलकुमार माझीसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेपछि उनी कक्षा ९ मा भर्ना भएकी हुन् । उनी कक्षामा नियमित उपस्थित हुने छात्रा हुन् ।
पढाइमा ‘अब्बल’ भएका कारण सुत्केरी छात्रालाई केही समयपछि परीक्षा दिने वातावरण बनाउने विद्यालयको तयारी थियो तर उनले ‘अन्य परीक्षार्थीसँगै परीक्षा दिन्छु’ भनेपछि नियमित परीक्षामा सामेल भएकी प्रधानाध्यापक बस्नेतले बताए । विद्यालयनजिकै घर भएकाले ललिता नवजात शिशुलाई छाडेर परीक्षा दिन पुग्ने गरेकी छन् । बच्चा भोकले रोएको अवस्थामा परिवारले परीक्षा हलमा पु¥याइदिने गरेका छन् । रुँदै गरेको बच्चा ल्याएको बेला दूध चुसाउँदै परीक्षा लेख्ने गरेकी छन् ।
पञ्चकौशिकाबाट दुई/तीन जना छात्राले पढाइ छाडेर विवाह गरेका छन् तर अन्य भने परीक्षा दिन नआएको प्रधानाध्यापक बस्नेतले बताए ।राजधानी





