लमजुङमा तीन रोपनीमा अफिम खेती गर्ने पक्राउ

२०८० चैत्र १३, मंगलवार

लमजुङ : लमजुङमा व्यवसायिक रुपमा गरिएको अफिम खेती फेला परेको छ । तीन रोपनीमा लगाइएको अफिमको निकाल्दै गरेको रस (चोप) एक सय सात थोप्लो चार ग्राम समेत खेती गर्ने व्यक्तिलाई रङ्गे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरेको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका– ३ को सूर्यपाल गाउँमा सो खेती गरिएको प्रहरीले जनाएको छ । सूर्यपाल गाउँका विष्णु सुवेदीले आफ्नो खेतबारी रेखदेख गर्नका लागि राखेका २६ वर्षीय हिमाल लामा थिङले सो खेती गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक धनबहादुर घलेले बताए । उनका अनुसार हिमाल लामा मकवानपुरको राक्सीराङ गाउँपालिका– ८ का स्थायी बासिन्दा हुन् ।

उनले तीन रोपनीमा अफिमको खेती गरेको फेला पारी प्रहरीले ती बोट समेत काटेर बरामद गरी ल्याएको प्रनाउ घलेले बताए । घलेका अनुसार उनका बासस्थानमा खानतलासी गर्दा अफिमका बोट १४ हजार ५६६ वटा, सोही अफिमबाट संकलन गरिएको चोप एक सय सात थोप्लो चार ग्रामका साथमा त्यो काट्न प्रयोग गरिएको चक्कु र चोप संकलन गरिएको कचौरा समेत बरामद गरेको छ । हिमाल लामा थिङले उक्त स्थानमा विगतको एक वर्षदेखि बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख धनबहादुर घलेले बताए । उनका अनुसार लामाले गत भदौ महिनाको अन्तिम तिर अफिमको विउ ल्याएर आफैले सो खेती गरेका थिए ।

पक्राउ परेका थिङलाई जिल्ला अदालतले थप अनुसन्धानका लागि पहिलो पटक सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । सो अफिम कच्चा पदार्थको रुपमा रहेको हुँदा मूल्य एकिन गर्न नसकेको र अनुसन्धानका क्रममा खुल्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख धनबहादुर घलेले जानकारी दिए । उनका अनुसार लमजुङमा यसरी व्यवसायिक रुपमा खेती गरिएको अफिम फेला परेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार