राप्रपासँग तत्काल एकता असम्भव : कमल थापा

२०८० चैत्र १७, शनिबार

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । उनले राष्ट्रवादी शक्ति र दललाई एउटै मोर्चामा ल्याउन गरिएको प्रयास सफल नभएको बताउँदै अहिले सनातन धर्मलाई कमजोर बनाउने काम भइरहेको बताए ।

राप्रपा नेपालको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भका अवसरमा शुक्रबार हेटौँडामा पत्रकारसँगको कुराकानीमा उनले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विकल्पमा राजासहितको प्रजातन्त्र आवश्यक भएको पार्टीको निष्कर्ष रहेको बताए। “राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग कार्यनीतिक धारमा मतभेद रहेकाले राप्रपासँग एकताको सम्भावना छैन,”  अध्यक्ष थापाले भने,  “उहाँहरू सत्ताकेन्द्रित र हामी नीति र सिद्धान्त केन्द्रित भएकाले एकताको सम्भावना छैन ।”

उनले अहिलेको व्यवस्थाको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र  र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको निष्कर्ष पार्टीको रहेको बताउँदै यसका लागि सडकदेखि सदनसम्म जनआन्दोलन आवश्यक भएको र यो कुनै एक दलको मात्र प्रयासले सम्भव नहुँदा समान धारणा र विचार भएका दलबिच सहकार्य आवश्यक रहेको बताए। उनले अगाडि भने, “समान विचारधारा भएका राजनीतिक दल र समूहसँग वार्ता पटक पटक गरे पनि सफल भएको छैन ।”

राप्रपाको महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेप राजसंस्थाको मर्मविपरीत भएको भन्दै आफूले विरोध गरेको उनको भनाइ थियो । सङ्गठन विस्तार र शक्ति सञ्चयमा पार्टी लागेको भन्दै अध्यक्ष थापाले मकवानपुरबाट सुरु भएर चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके हुँदै बर्दियासम्मको भ्रमणमा निस्किएको बताए । उनले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन सङ्गठित रूपमा भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार