
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट गरेका थिए । ‘नेपाल अरु कसैले आएर बनाई दिँदैन, हामी नेपाली आफैँले बनाउने हो । यो दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्छ । विशेष गरी युवामा यो हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गरे । उनले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको तथ्यसहित तीन विषयमा प्रष्ट हुन आग्रह गरेका थिए । ‘पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ, यी तीनै कुरा गलत हुन्,’ उनले भने । अहिले जबर्जस्त रूपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट जनतामा निराशा ल्याउने प्रयत्न भइरहेको उनको भनाइ थियो ।
नयाँ सत्ता समीकरण बनेसँगै मुलुक सही बाटोमा आएको र अब राष्ट्रिय हित तथा विकासको गति तीव्र ढंगले अघि बढ्ने अध्यक्ष ओलीको भनाइ थियो । विगतमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षति बेहोर्नुपरेको भन्दै उनले देशका लागि नयाँ सत्ता समीकरण बनाउनुपरेको बताए ।
‘नयाँ समीकरणसँगै परिस्थिति फेरिएको हुँदा अब राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई साँचो अर्थमा प्रयोग गर्दै हामी सुशासन र विकासको गतिलाई अघि बढाउने, जनताको जीवनस्तर सहज बनाउने काममा जुटेका छौँ,’ अध्यक्ष ओलीले भने ।