
काठमाडौं : गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको उनले दाबी गरे ।
इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि बताए । उनले भने, ‘१०० दिनमा हामीले लिएका प्रत्येक मन्त्रालयसँग देखाउने १०० वटा कामको सूची हुन्छ । कतिपय काम शान्त भएर गर्नुपर्ने रहेछ । गृह मन्त्रालय अलिकति संवेदनशील भएकाले यहाँ भइरहेका कामबारे मैले बताउन मिल्दैन । तर, नतिजा आएपछि सबैलाई थाहा हुन्छ ।’
‘हाम्रो उम्मेदवारका विरुद्ध अफवाहहरू चलेका रहेछन् । भाडाका मान्छेहरू किन परिचालित हुन्छन् एउटा नयाँ दलविरुद्ध जो राजनीतिलाई सङ्ल्याउने कोसिस गरिरहेको छ । त्यसकाविरुद्ध भएभरका सबै शक्ति किन लाग्नपर्यो ? हामीले त घण्टी मात्रै बजाएको जस्तो लाग्थ्यो, तर उहाँहरूको मनमा त ढ्यांग्रो बजेछ । हामीले त चुनाव चिन्ह घण्टी होइन ढ्याङ्ग्रो नै राख्नुपर्ने रहेछ ।’ उनले सबै अफवाहको जवाफ दिइराख्नु नपर्ने बताए ।
‘जवाफ दिएर कहाँ हिँड्ने रु मिलन लिम्बुले आरोप प्रत्यारोपको जवाफ लिएर हिँड्दैन । किसानको मुद्दा बोकेर हिँड्छ । बेथिति विसंगतिको फाइल लिएर हिँड्छ । चोक चोकमा भाडामा पठाइएका मान्छेले सोधेका प्रश्नको जवाफ दिनुपर्दैन,’ लामिछानेले भने ।