जनकपुर घटना: पति विदेशमा, ३ वर्षीया छोरीलाई टुहुरी बनाएर परपुरुषसँग संसार छाडिन्

२०८१ बैशाख १२, बुधबार

काठमाडौँ : जनकपुरको एक होटलमा मंगलबार मृत भेटिएका पुरुष र महिला विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मंगलबार दिउँसो जनकपुरस्थित रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा महोत्तरीकी २५ वर्षीया प्रियंका कापर आफ्ना पुरुष साथी महोत्तरीकै ३१ वर्षीय हितेन्द्र पासपानसँग मृत फेला परेकी थिइन्।

महोत्तरीको पिपरा गाउँपालिका- ४ का सरोज भनिने हितेन्द्र र सोही ठाउँ माइत भएकी प्रियंका लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्थानीयले बताएका छन्। एकै गाउँमा जन्मे हुर्केका उनीहरुको विवाह भने अन्यत्रै भएको थियो। किशोराअवस्थादेखि नै प्रेम सम्बन्धमा रहेका भएपनि उनीबीच जातियताको कारण विवाह हुन नसकेको घटनालाई नजिकबाट नियाल्दै आएका स्थानीय एक जनप्रतिनिधिले बताए।

‘प्रेम सम्बन्धमा रहे पनि हितेन्द्र पासवान दलित भएका कारण प्रियंकाका अभिभावकले उनको अन्यन्त्रै विवाह गरिदिएका थिए,’ उनले भने, ‘यो मृत्युमा जातिय विभेद पनि जोडिएको छ।’ मधेशमा कापरलाई कथित पानी चल्ने र पासवानलाई पानी नचल्ने जातको रुपमा बुझिन्छ। हितेन्द्रसँग प्रेम सम्बन्धमा रहेकी प्रियंकाको करिव चार वर्षअघि महोत्तरीकै लोहारपट्टी नगरपालिका- ४ का राकेश कापरसँग मागी विवाह भएको थियो।

विवाहपछि उनीहरुबाट एउटा छोरीको जन्म भएको छ। छोरी जन्मिएपछि राकेश डेढ वर्षअघि वैदेशिक रोजगारीको लागि कतार गएका थिए। उनी हाल कतारमै छन्। होटलमा परपुरुषसँग आत्महत्या गर्दा प्रियंकाकी ३ वर्षीया छोरी साथमै थिइन्। प्रियंकाले आफ्नी अवोध छोरीलाई हितेन्द्रलाई बुवा भन्न सिकाएकी थिइन्। छोरीलाई कोठामा छाडेर प्रियंका परपुरुषसँग त्यही कोठामा झुण्डिएको देखेपछि बालिका चिच्याउँदै रोएकी थिइन्। त्यसपछि मात्रै होटलवालाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीय होटको कोठामा पुग्दा बालिकाले उनीहरुलाई आमावुवा भनेकी थिइन्।

त्यसले पनि उनीहरु नियमित सम्बन्धमा थिए भन्ने देखिने स्थानीयको अनुमान छ। प्रियंकासँग विवाह नहुने अवस्था देखेपछि हितेन्द्रले लोहारपट्टी नगरपालिका- ९ की आफ्नै जातकी युवतीसँग विवाह गरेका थिए। प्रियंका र हितेन्द्र विगत चार दिनदेखि होलिडे होटलमा बस्दै आएका अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक डीएसपी रन्जन अवालेले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अवैध यौन सम्बन्ध र जातिय विभेद उनीहरुको मृत्युको कारण हुनसक्ने देखाएको छ। केही दिनअघि प्रियंका माइत जान्छु भन्दै ससुरासँग बिदा मागेर घरबाट हिँडेकी थिइन्। तर, पछि घरकाले बुझ्दा उनी माइत नगएको खुलेपछि घर र माइती दुबैतिरबाट खोजी सुरु भएको थियो।

पिपरा- ४ का वडाध्यक्ष वैदेही पासवानका अनुसार प्रियंकासँग आत्महत्या गर्ने हितेन्द्र मलेसियामा बसेर दुई वर्षअघि मात्रै फर्किएका थिए। ‘फेरि उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। पासपोर्टसमेत म्यानपावरमा बुझाइसकेका थिए,’ उनले भने, ‘यो दुखद् घटनाले उनका स-साना चार जना छोराछोरी, पत्नी र बुवाआमा मर्माहत भएका छन्।’

स्थानीयका अनुसार हितेन्द्रका दुई छोरा र दुई छोरी स-सानै छन्। हितेन्द्रका बुवा रामप्रताप पासवान रिटायर शिक्षक हुन्। रामप्रतापका तीन भाइ छोरामध्ये हितेन्द्र माइला थिए। ‘हितेन्द्रका वुवाको गाउँमा राम्रै प्रतिष्ठा छ। आर्थिक रुपमा पनि उहाँहरुको अवस्था राम्रै छ,’ अध्यक्ष यादवले भने। हिजो सरकारी बिदा भएकाले प्रियंका र हितेन्द्रको शवको पोष्टमार्टम हुन नसकेको डीएसपी अवालेले बताए। ‘आज पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउँछौँ,’ डीएसपी अवालेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार