जसपा सरकार ढाल्ने खेलमा लाग्दैन : महासचिव राई

२०८१ बैशाख २९, शनिबार

नेपालगन्ज : नवगठित जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले आफूहरु दिनदिनै सरकार ढाल्ने खेलमा नलाग्ने बताएका छन्।

उनले भने, ‘सरकारलाई केही समय राम्ररी काम गर्न दिनुपर्छ। दिनदिनै सरकार ढाल्दा त्यसको प्रभाव केन्द्रदेखि प्रदेशसम्म पर्छ र त्यसबाट जनताका धेरै काम रोकिन जान्छन्।’ जनता समाजवादी पार्टीले नेपालगन्जमा शनिबार पत्रकारसँग गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव राईले उपेन्द्र यादवको तानाशाही, पार्टीलाई एकलौटी रुपमा चलाउन खोज्ने प्रवृत्ति तथा सधैंजसो सरकार ढाल्ने खेलमा लाग्ने प्रवृत्तिका कारण जनता समाजवादी पार्टी गठन गर्नुपरेको बताए।

राईले थपे, ‘वर्तमान सरकारलाई जनता समाजवादी पार्टी समर्थन गरेको छ र आवश्यक परे सम्मानसहित सरकारमा थप मन्त्री पठाउने छ। यो सामान्य कुरा हो।’ उनले बाँके लगायत देशभरकै अधिकांश सांसद, नेता तथा कार्यकर्ता नवगठित जनता समाजवादीमा आवद्ध भएको जनाउँदै कानुन सम्मत रुपमा निर्वाचन आयोगले दल दर्ता गरेर पार्टीलाई प्रमाणपत्र दिएको बताए।

पार्टीका नेता कार्यकर्तासँग कुनै छलफल नै नगरी मनपरी तरिकाले जे पायो त्यही निर्णय गर्ने र जसलाई पायो त्यसलाई जिम्मेवारीबाट हटाउने र राख्ने काम उपेन्द्र यादवले लामो समयदेखि गर्दै आएको आरोप लगाउँदै पूर्वमन्त्री समेत रहेका महासचिव राईले अब यो पार्टीमा हरेक निर्णय नेता कार्यकर्ताको छलफल र सहमतिबाट मात्रै हुने बताए। उनले अधिकांश मधेशवादी दलमा अध्यक्षले तानाशाही प्रवृत्तिले काम गर्न खोजेपछि दल विभाजन हुँदै गएको बताए।

शनिबार नै काठमाडौंबाट गृह नगर नेपालगन्ज आउनु भएका महासचिव राईले बाँके जिल्लाका नेता कार्यकर्ताको एक भेलामा सहभागी भए। भेलामा सम्बोधन गर्दै उनले जिल्लाका सबै नेता कार्यकर्तालाई एकजुट भएर जनता समाजवादी पार्टीमा आवद्ध हुन आग्रह गर्दै यस पटक प्रदेशमा धेरै राम्रो नतिजा ल्याएर देखाउने बताए।

सो भेलामा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारी लाल यादव, लुम्बिनीका प्रदेशसभा सदस्य आदेश अग्रवाल, जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्मा, जिल्ला पार्टी संगठन प्रमुख अतहर हुसैन फारुकी लगायत ठुलो संख्यामा नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार