मुख्यमन्त्री कँडेलद्वारा सर्वदलीय बैठक आह्वान

२०८१ बैशाख २९, शनिबार

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्नेगरी आज बैठक आह्वान गरेका हुन् । कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । “समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो”, उनले भने, “एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरिएको हो ।”

मुख्यमन्त्री कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीनजना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताए । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।

नीतिगत व्यवस्थाअनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउनेगरी तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार