प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैनः गोविन्द केसी

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्। सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने तर्क गरे। काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसनमा बसेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताएका हुन्।

उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्ने धारणा राखे। प्रधानमन्त्री दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएको वरिष्ठ चिकित्सक केसीको भनाइ थियो।

उनले द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा आक्रोश पनि व्यक्त गरे। उनले भने, ‘अपराधीहरु प्रधानमन्त्री, मन्त्री बन्ने ? मैले भनि हाले नि–त्यस्तो हुन सक्दैन । उनले राजीनामा दिनुपर्छ। राजीनामा दिएर यो संक्रमणकालीन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले टुंगोमा पुर्‍याउन उसले सहयोग पुर्‍याउनुपर्छ।’

निर्दोष रहेको अवस्थामा प्रधानमन्त्री, मन्त्री जे बने पनि आफूलाई कुनै आपत्ति नभएको तर अभियुक्त भएर देश चलाउन नपाउने उनको भनाइ छ। ‘त्यसमा कुनै अधिकार पनि छैन। नैतिक अधिकार पनि छैन। उहाँले राजीनामा दिनुपर्छ। अब प्रधानमन्त्री नै जघन्य अपराधको अभियुक्त छन् भने मैले मात्रै होइन, यसमा सबैले किन बोलेनन्?’

वरिष्ठ चिकित्सक केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्नेलगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमती कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार