जिबी राईको पासपोर्ट रोक्न प्रहरीले गर्‍यो पत्राचार

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौं : विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको छ।

‘राहदानी रोक्का गर्नका लागि पत्र लेखेर पठाइएको छ। राहदानी विभागले निर्णय गर्ला,’ स्रोतले भन्यो। यसरी आएको पत्रबारे राहदानी विभागले अध्ययन गरिरहेको प्रवक्ता रमेशकुमार चर्मकारले जानकारी दिए। ‘भर्खरै प्राप्त भएको होला। हामीले अध्ययन गरिरहेका छौं। भेरिफाइ गर्नुपर्ने कामकारबाहीहरू भएपछि निर्णय हुन्छ,’ उनले भने।

फरार रहेका राईलाई पक्राउ गर्नका लागि विभागले उनको राहदानीलाई ‘कालोसूची’ मै राखेको छ। यद्यपि रोक्का/रद्द गर्नेबारे पनि कानुनी प्रक्रियाअनुसार अघि बढ्ने उनको भनाइ छ। राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन्।

उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ। प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले उनी मलेसियामा रहेको बताएका थिए। जसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा कुराकानी समेत गरेका थिए। अभियुक्तलाई पक्राउ गरी ल्याउन मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले कठिन भएको प्रहरीको भनाइ थियो। उनलाई फिर्ता ल्याउन प्रहरीले उनको राहदानी नै रद्द वा रोक्का गर्ने तयारी गरेको हो।

राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको हो। दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्ने भन्ने शीर्षक उल्लेख छ। त्यसअनुसार (घ) मा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानुन बमोजिम कालोसूचीमा परेको भएमा रोक्का गर्न सकिने भनिएको छ।

संगठित अपराधको कसुरमा अभियोग लागेको भएमा पनि रोक्का गर्न सकिने भनिएको छ। त्यस्तै, दफा १५ मा राहदानी रद्द गर्न सकिने प्रावधान छ। त्यसअनुसार पनि प्रहरीले माग गरेको हो। राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए। उनी ग्यालेक्सी फोर-केका सञ्चालक समेत थिए। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार