सन्दीपको मुद्दामा बहस उत्कर्षमा पुग्दै

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा जारी बहस उत्तरार्द्धमा छ । दुवै तर्फका वकिलहरूले आ-आफ्नो जिरह प्रस्तुत गरिरहेका छन् ।

सुरूमा गौशाला २६ को तर्फबाट दुई सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले सन्दीपलाई दिइएको ८ वर्षको जेल सजाय कम भएको भन्दै बढाउनुपर्ने माग गरे । गौशाला २६ लाई अदालतले नाबालिग नै ठहर गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

सरकारी वकिलले बोलेपछि सन्दीपका वकिलहरूले बहस सुरू गरे । उनीहरूले सन्दीप निर्दोष रहेको भन्दै सफाइ दिनुपर्ने माग गरे । जिल्ला अदालतले कुनै पनि प्रमाणबेगर बलात्कार ठहर गरेको भन्दै त्यसलाई सच्याउनुपर्ने उनीहरूको जोड छ । अहिलेसम्मको बहसमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकाल मौन बसिरहेको स्रोतले बतायो ।

सन्दीपको तर्फबाट मुरारी सापकोटा, कृष्ण सापकोटा, शम्भु थापाले बहस सिध्याएका छन् । सन्दीपका वकिलहरूको बहस सकिएपश्चात सरकारी वकिलले जवाफी बहस गर्ने छन् । त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ । बहस अनपेक्षित नलम्बिए आजै फैसला हुन सक्ने अदालत स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार