बोल्न दिन्छौं, चित्त बुझेन भने हाम्रो कुरा फेरि राख्छौंभन्दा गृहमन्त्री लामिछाने मानेनन् : शेखर कोइराला

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौँ : कांग्रेस नेता डा. शेखर कोईरालाले प्रतिनिधि सभामा बोल्न दिने तर चित्त नबुझे हाम्रो कुरा फेरि राख्छौं भन्दा गृहमन्त्री रवि लामिछानेले नमानेको बताएका छन् । उनले कांग्रेसले लामिछानेको राजीनाम नभइ छानबिन समिति गठनको माग मात्र राखेको उल्लेख गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजाको धम्कीबाट नडराएको कांग्रेसलाई अहिले पनि कसैले धम्क्याउन नसक्ने बताए ।

‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्नसक्ने अवस्थामा छैनौं । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ । यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली कांग्रेसले । साथीहरुले एउटा कुरा भन्नुभयो, तपाईंहरुले गृहमन्त्रीलाई बोल्न दिनुभएन । बोल्न दिन हुन्छ कि हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा.रामशरण महतलाई दिइयो कि दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो कि दिइएन त्यो आफ्नो ठाउँमा छ । तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौं भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । यो क्लियर हुनुपर्छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो’ कोइरालाले भने ।

लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि रहेको तर त्यसबारे कांग्रेसले केही नभनेको कोइरालाले बताए ।’रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन । छानबिन समिति बनाउनुस् भनेका छौैं । गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटकपटक आएको छ । उहाँ नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नुहन्छ ? यो कुरामा सत्ता पक्षका साथीहरु, दलहरु स्वीकार्ने पक्षमा देखिनुभएको छैन’ कोइरालाले भने,’ यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ । पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, कांग्रेसले सदनमा राखेको हो । कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कााग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार