काठमाडाैं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौंपटक विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोहीअनुसार मुख्यमन्त्री यादवले बुधबार दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए । विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए ।





