भाजपा सांसद कंगना रनावतलाई थप्पड हानेको आरोपमा सुरक्षाकर्मी निलम्बन

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन्। सुरक्षाकर्मी कुलविन्दर कौरले चण्डीगढ विमानस्थलमा रनावतमाथि बिहीबार थप्पड हानेको आरोप छ।

हिमाचल प्रदेशको मन्दी क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएकी कंगना नयाँ दिल्ली जान विमानस्थल पुगेकी थिइन्। त्यही बेला सुरक्षाकर्मी कौरले रनावतमाथि थप्पड हानेको आरोप छ। सांसदमाथि थप्पड हानेको आरोपमा कौरलाई निलम्बनसमेत गरिएको छ।

उनीविरूद्ध एफआइआर (उजुरी) पनि दर्ता भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। घटनापछि सामाजिक सञ्जालमा भिडिओहरू सार्वजनिक भएका थिए। कंगना रनावतले पनि आतंक फैलिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ हालेकी थिइन्।

‘उनले मलाई अनुहारमा हिर्काइन् र ममाथि दुर्व्यवहार गर्न थालिन्। मैले उनलाई सोधेँ किन गरेको भनेँ। उनले किसान आन्दोलनका लागि आफ्नो समर्थन रहेको बताइन्,’ रनावतले भनेकी छन्, ‘म अहिले सुरक्षित छु। तर पञ्जाबमा आतंक बढेकोमा मेरो चिन्ता छ। यसलाई हामीले कसरी नियन्त्रणमा लिने?’

त्यस्तै कौरले पनि घटनापछि बोलेको भिडिओ बाहिरिएको थियो। नयाँ दिल्लीमा भएको किसान आन्दोलन हुँदा रनावतले किसानको अपमान गरेको हुँदा थप्पड हानेको भन्दै भिडिओमा बोलेकी थिइन्। किसानहरूले १५ महिनासम्म आन्दोलन गरेका थिए। त्यस आन्दोलनमा कौरकी आमा पनि सहभागी थिइन्। रनावतले आन्दोलनमा सहभागीहरू १०० भारू लिएर आन्दोलन गर्न पुगेको टिप्पणी गरेकी थिइन्।

‘किसान आन्दोलनमा सहभागी किसानहरू १०० भारू लिएर बसेको टिप्पणी दिएकी थिइन्। उनी त्यसरी बस्न जान्छिन्? मेरी आमा त्यहाँ बसेर आन्दोलन गरिरहेकी थिइन् जब उनले त्यस्तो टिप्पणी गरिन्,’ कौरले भनेकी थिइन्। सुरक्षाकर्मी कुलविन्दर कौर सन् २००९ मा सिआइएसएफमा प्रवेश गरेकी थिइन्। दुई वर्षयता उनी उक्त विमानस्थलमा कार्यरत थिइन्। उनका दाई शेर सिंह किसान नेता हुन्। उनी किसान मजदुर संघर्ष समितिका सचिव पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार