
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनताको आशा र भरोषाको पार्टी राप्रपाबाहेक अरु कुनै हुन नसक्ने जिकिर गरेका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले राप्रपाको सदस्य भन्न अहिले लाज मान्नुपर्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘साढे तीन दशकदेखि कर्णालीको मत लिइरहेका छन्, तर त्यहाँको जनताको जीवनस्तर जहाँको तहीँ छ । मतदाताले अहिले विकल्प खोजिरहेका छन् । त्यहाँको विकल्प हामी हौं भनेर क्रियाशील बनायौं भने, लाग्यौं भने हामीलाई चुनाव जित्न कठिनाइ छ भन्ने लागेको छैन ।’ उनले गएको चुनावमा जुम्लामा एमालेसँग सहयोग माग्दा अध्यक्ष ओलीले आफूलाई खिस्याएर बोलेको स्मरण गरे ।
उनले प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै १०० दिन टिक्नु भएको बताए । सरकार भ्रष्टाचारीको रक्षाकवच बनेको उनले आरोप लगाए ।