
काठमाडौँ : मुख्यमन्त्री बनेको १८ महिनाको अवधिमा पटकपटक सत्ता गठबन्धन परिवर्तन हुँदा संकटमा परेर पनि जोगिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल यसपटक भने अप्ठ्यारोमा परेका छन् ।
सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेल अप्ठ्यारोमा परेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै उनको मुख्यमन्त्री पद धराममा परेको छ भने प्रदेशको सत्ताको चाबि उनको हातबाट खोसिने निश्चित भएको छ ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले विभिन्न समयमा तीन पटकसम्म विश्वासको मत लिनुपरेको थियो । तर पनि उनको मुख्यमन्त्री पद भने जोगिदै आएको थियो । अब भने सत्ता समिकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेस र दोस्रो ठुलो दल एमाले मात्रैले पनि सजिलै बहुमत पुग्ने अवस्था छ ।
एक सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहेकोमा यहाँ कांग्रेस र एमालेसँग गरेर ६४ सांसद रहेका छन् । बागमती प्रदेशसभामा ७ राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।