मुकुल ढकालको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपा

२०८१ असार २०, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक गर्दैछ।

कार्यवाहक प्रवक्ता मनीष झाले प्रतिवेदन सार्वजनिक गर्न लागेको जानकारी दिए। झाले प्रतिवेदन रास्वापाको नभएर डा. मुकुल ढकालको भएको पनि दोहोर्‍याएका छन्।

सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हिजो पार्टी कार्यालयमा पत्रकार भेटघाट दौरान तपाईँहरूलाई जानकारी गराए अनुसार र आज यो समूह बनाउँदै गर्दा भने झैं अब म डाक्टर मुकुल ढकाल ज्यू को समीक्षा यात्राको प्रतिवेदन यहाँ सार्वजनिक गर्दैछु। यो प्रतिवेदन रास्वपाको नभएर डा. मुकुल ढकालको हो। यसलाई सार्वजनिक गरेर न्याय गरियोस् भन्ने उनको अनुरोध अनुसार प्रतिवेदनको लिन्क पठाउने कार्यको सहजीकरण मात्र गरेको जानकारी गराउँदछु।’

सोही प्रतिवेदनको विषयले पार्टीमा विववाद बढ्दै जाँदा ढकाललाई रास्वपाले कारबाहीमा गरेको थियो। पार्टीको अनुशासन विपरित गतिविधि गरेको भन्दै ढकाललाई बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले एक हप्ताका लागि महामन्त्री पदबाट निलम्बन गरेको हो।

ढकालले एक महिने देश दौडाहापछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो। उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि पार्टीमा एकलौटी ढंगले सभापति चलेकोसम्मका आरोप लगाएका छन्।

यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ गर्नुपर्ने उनको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार