
काठमाडौं : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारी संघीय राजधानी काठमाडौँमा रहेकाले समर्थन फिर्ता लिएको पत्र कार्यालयमा दर्ता गरिएको हो। यस्तै, सरकारमा सामेल एमालेका तीन मन्त्रीले मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दर्ता गराएका छन्।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ।
नेकपा एमाले नेतृत्वको निर्देशनपछि एमालेले समर्थन फिर्ता लिँदै सरकारमा सामेल तीन मन्त्रीलाई राजीनामा दिन लगाएको हो। आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्र बहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले राजीनामा बुझाएका छन्।