मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउदै कांग्रेस

२०८१ असार ३१, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्माले चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति भवन शितल निवासमा आज एक समारोहका बीच उनको शपथ ग्रहण कार्यक्रमको आयोजना गरिँदैछ। कांग्रेससँग सहमति गर्दै एमाले अध्यक्ष ओलीले निवर्तमान सरकारबाट समर्थन फिर्ता लिएर आफ्नो नेतृत्त्वमा सरकार गठन गर्न लागेका हुन्।

सहमति अनुसार प्रधानमन्त्रीसहित ९ मन्त्रालय एमालेको भागमा परेको छ भने ८ मन्त्रालय कांग्रेसको भागमा परेको छ। बाँकी ४ मन्त्रालय साना दललाई दिने तयारी छ।

सहमति अनुसार एमालेले प्रधानमन्त्रीसहित अर्थ, रक्षा, भौतिक पूर्वाधार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ। तर, सरकारमा जाने मन्त्रीहरूको नाम भने रामवीर राई बाहेक अन्यको टुङ्गो लाग्न सकेको छैन।

एमालेले आफ्नो तर्फबाट सरकरामा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाइसकेको छ। जस अनुसार मानवीर राईलाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ। त्यस्तै विद्या भट्टराईलाई शिक्षा, दामोदर भण्डारीलाई उद्योग, राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सभा सांसद देबेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यता, कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा तथा जलस्रोत, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, पर्यटन, वन र कानुन मन्त्रालय लिनेछ। तर, कांग्रेसले आफ्नो मन्त्रीहरूको नाम अझै टुङ्गो लगाउन सकेको छैन।

कांग्रेसबाट रमेश लेखक, देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा, रामनाथ अधिकारी, हृदयराम थानी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम चर्चामा रहेको छ भने चन्द्र भण्डारी, जीवन परियार, अजय चौरसिया, दीपक खड्का, दीपक गिरी, रामहरि खतिवडा, श्यामकुमार घिमिरे, सरिता प्रसाईं, आशा विकसहित दर्जनभन्दा बढी कांग्रेस सांसदहरू मन्त्रीका आकांक्षी छन्।

बाँकी रहेका मन्त्रालय सरकारमा सहभागी हुने दलमा भर पर्ने बुझिएको छ। बाँकी रहेका मन्त्रालयमा युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार