बेपत्ता बस र यात्रु खोज्न बंगलादेश र भारतबाट उच्च प्रविधियुक्त टोली ल्याइने

२०८१ श्रावण १, मंगलवार

काठमाडौं : गत शुक्रबारदेखि त्रिशूलीमा हराई रहेका बस र यात्रुको खोजीका लागि सुरक्षा निकायले सोमबार बिहानबाट उच्च प्रविधिको सोनार उपकरण प्रयोग गरी बेपत्ता यात्री र बसको खोजी गरेको भए पनि अझै सफलता हात परेको छैन। सुरक्षा निकायले आफ्नो भएभरका शक्ति प्रयोग गरेर खोजी कार्यलाई तीव्रता दिएको भए पनि भनेजस्तो परिणाम आउन नसकेपछि सरकारले बंगलादेश र भारतबाट उच्च प्रविधियुक्त खोज तथा उद्धार टोली ल्याउने तयारी गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकबाट कुरिनटार लगिएको सो डिभाइसमार्फत् खोजी कार्य शुरू गरिएको सो बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए। नेपालमा भएकोमध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूको स्क्यान गरी आकृतिको रूपमा देखाउने प्रविधि हो ।

यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भए पनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन । तर, सोमबार प्रयोग गरिएको सोनार २ सय मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने उच्चतम प्रविधिको उपकरण हो।

धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो उपकरणबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने बताइएको छ । यसलाई मोटर बोटमा जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । सो दुर्घटनामा परी बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ । सोमध्ये ९ जनाको मात्रै सनाखत भएको छ । बाँकी अन्यको खोजी कार्यलाई तीव्रता दिइएको छ।

नेपालमा नेपाली सेना र सशस्त्र प्रहरी बलसँग गोताखोरको संख्या उल्लेख्य भए पनि प्रविधिको अभावका कारण सोचेजस्तो सफलता हात लाग्न नसकेको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार