चन्द्रमामा भेटियो गुफा !

२०८१ श्रावण ३, बिहीबार

वासिङ्टन डीसी : वैज्ञानिकहरूले लामो समयदेखि चन्द्रामा पनि गुफा हुनसक्ने बताउँदै आएका थिए । अब भने अनुसन्धानकर्ताहरूले चन्द्रमामा गुफा फेला पारेका छन् । चन्द्रमामा मौसम प्रतिकूल भएको स्थितिमा यसले अन्तरिक्ष यात्री र रोबोटहरूलाई आश्रय दिन सक्ने आशा गरिएको छ ।

अमेरिका र चीन जस्ता देशहरूले चन्द्रमामा लामो समय मानव उपस्थिति सम्भव गराउन प्रयासरत छन् । यही बीचमा गुफा फेला पर्नुले भविष्यमा हुने अन्तरिक्ष अन्वेषणका लागि सहज हुनसक्ने बताइएको छ । वैज्ञानिकहरूले चन्द्रमाको मेर ट्रान्क्विलिटेटिस नामक समथर भूमिमा फेला परेको खाल्डोको अभिलेखीय रडार मापनको अध्ययन गरेका थिए । मेर ट्रान्क्विलिटेटिस भनेको सन् १९६९ मा अपोलो ११ मिसन ल्यान्ड भएको ठाउँ हो ।

खाल्डोभित्र के छ भनेर पत्ता लगाउन नासाको रिकोनेसा अर्बिटरले सन् २०१० मा वेबलेन्थ प्रयोग गरेर डेटा सङ्कलन गरेको थियो । यही डेटाहरूको विश्लेषण गर्ने क्रममा अनुसन्धानककर्ताहरुले १३० देखि १७० मिटर गहिरो खाली ठाउँ फेला पारेका हुन् । गुफा कम्तीमा ४५ मिटर फराकिलो छ भने ३० देखि ८० मिटर लामो छ ।

चन्द्रमामा यस बाहेक अरू पनि गुफा भेटिन सक्ने बताइएको छ । लामो समयदेखि चन्द्र गुफा रहस्यमय रहँदै आएको थियो । ५० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले चन्द्रमामा गुफाको अस्तित्वको परिकल्पना गर्दै आएका थिए ।

अन्ततः यसको अस्तित्व प्रमाणित हुनु आश्चर्यजनक भएको अध्ययनका सह–लेखक लियोनार्दो केर्रेरले भनेका छन् । भविष्यमा हुने चन्द्रमासम्बन्धी अनुसन्धान र अन्वेषणले चन्द्रमाको उद्‌विकास र ज्वालामुखीबारे नयाँ अन्तरदृष्टि दिनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार