
दोलखा : प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा साउन ५ गते शनिवार र साउन ९ गते बुधवार तीन पटक पसिना आएपछि शुुक्रवार राष्ट्रप्रमुखको तर्फबाट राष्ट्रपति कार्यालय र नागरिकको तर्फबाट भीमेश्वर गुठी व्यवस्थापन समितिले क्षमापूजा गरेको छ । भीमेश्वरको शिलामा पसिना आयो भने मुलुकमा कुनै उथलपुुथल वा अनिष्ठ हुने जनविश्वास रहेको छ ।
शिलाको दायाँ पट्टी पसिना आउदा राष्ट्रप्रमुलाई असर गर्ने र बाँया पट्टी पसिना आउदा नागरिकलाई असर गर्ने जनविश्वास रहदै आएको छ । शिलामा पसिना आएपछि पसिना पुछेको कपास चाँदीमा राखेर राष्ट्रप्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट मुलुकमा अनिष्ठ नहोस भनेर क्षमापूजा गर्ने प्रचलन रहेको छ । भीमेश्वरको शिलामा शनिवार पसिना आएपछि आईतवार पसिना पुछेको कपास राष्ट्रपति रामचन्द्र पौडेललाई दिईएको थियो । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।
भीमेश्वरको शिलामा साउन ५ गते शनिवार दिउँसो १ः४७ बाट बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकीएको थियो । शनिवार नै दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट पसिना आउन सुरु भै झण्डै १०÷१२ मीनेट सबैतिर पसिना आएको थियो । त्यसैगरी बुुधवार दिउँसो १२ः४५ बजेबाट शिलामा पसिना आउन सुरु भै दिउँसो ३ः१३ बजे रोकिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । बुधवार शिलाको सबैतिरबाट पसिना आएको श्रेष्ठले बताए ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेल र राष्ट्रपति कार्यालयका उपसचिव कृष्णप्रसाद लम्सालले क्षमापूजा गरेका थिए । त्यसैगरी नागरिकको तर्फबाट भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले क्षमापूजा गरेको समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले बताए । क्षमापूजाको अवसरमा ११ जना ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा जलधारा सहित लघुरुद्री पाठ गरिएको समितिले जनाएको छ । त्यसैगरी मन्दिर परिसरमा यज्ञ होमाधी सहित माङ्गलीक दोष शान्ति ग्रहपुजा समेत गरिएको समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले बताए ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २२ पटक पसिना आईसकेको स्थानियको भनाई छ । पछिल्लो पटक २०७८ बैशाख २५ गते भीमेश्वरको शीलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताए। भीमेश्वरको शीलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानिय जेष्ठ सदस्यहरुले बताए ।