सर्लाही : पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवकको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित रतनपुरमा रहेको फार्म हाउसमा गत साउन ६ गते राति रायको हत्या भएको थियो।टाउकोमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो। घटनाको रात रायसँगै उक्त घरमा काम गर्ने सहयोगी कविलासी नगरपालिका वडा नम्बर ३ स्थित मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादव थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा संलग्नता भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए। ती अधिकारीका अनुसार रामउजैनले हत्या गरेको समेत स्वीकारेका छन्। ‘अहिलेसम्मको सबुत प्रमाणले उनैले हत्या गरेको देखिन्छ। बयानमा पनि उनले हत्या गरेको स्वीकारिसकेका छन्। तर हिजोदेखि गाउँकै अर्को मान्छेले मार्न भनेको कुरा पनि गरिरहेका छन्। घटनामा अरूको पनि संलग्नता हुने हाम्रो पहिल्यैदेखिको आशंका छ। पोलियोग्राफ्र टेष्ट गरेपछि थप कुरा पत्ता लाग्छ। भेटिएका सबुत प्रमाणको फरेन्सिक रिपोर्ट आइसकेपछि घटनामा संलग्नलाई सार्वजनिक गरिनेछ,’ उनले भने।
प्रहरीका अनुसार रायको हत्या गरी रामउजैनले लगाएका गन्जी घर छेउमै फालेका थिए। हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा घरबाट ५० मिटरको दुरीमा झाडीमा फालेका थिए। ‘धेरै बेरसम्म खुटा थिच्न भन्थे। काम गरिरहँदा धेरै इरिटेट गर्ने, गाली गर्ने गरेका थिए। राति भनाभन भएपछि घरमा रहेको उखु काट्ने फर्सा प्रहार गरी हत्या गरेको बताएका छन्,’ ती अनुसन्धान अधिकृतले थपे।





