
काठमाडौं : फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । रेडियो नेपालको स्टुडियोमा पुगेर नेपालले स्वरांकन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने आगामी साता डबिङ गर्ने निर्देशक तथा निर्माता रमित ढुंगानाले जानकारी दिए । ‘डबिङका लागि प्रधानमन्त्रीज्यूसँग समय मागिएको छ । सम्भवतः एक साताभित्र गर्ने तयारी छ,’ ढुंगानाले भने ।
यो फिल्ममा नेता नेपालले एसिड आक्रमणको घटनाविरुद्ध प्रतिबद्धता व्यक्त गर्ने नेताको भूमिकामा अभिनय गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।
दुवै नेताले दुई महिनाअघि फिल्मको छायांकन गरेका थिए । पोस्ट प्रोडक्सनमा काम भइरहेको यो फिल्ममा ३३ जना एसिड आक्रमणका पीडितको कथालाई समेटिएको छ । वास्तविक घटनामा आधारित यो फिल्मले एसिड आक्रमणको घटनाविरुद्ध सन्देश दिने निर्देशक ढुंगानाको भनाइ छ । फिल्ममा शिवम् अधिकारीको कथा छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।