काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका हुन् । ‘यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरू छन्,’ उनले भने, ‘मैले सहमतिअनुसार दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेर स्थिरताको सन्देश दिन्छु ।’
प्रधानमन्त्री ओलीले सरकार ढल्ने होइन, ढलपल पनि नहुने बताए । ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ,’ उनले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका लागि बनेको सरकारलाई असफल हुने छुट नरहेको बताए । ‘यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए ।





