सत्ता बहिर्गमनपछि प्रचण्डलाई पार्टीको चिन्ता

२०८१ श्रावण १६, बुधबार

काठमाडौं : संसदीय राजनीतिक मोर्चामा कांग्रेस र एमालेलाई दुई–दुईपटक धोका दिएको आरोप खेप्दै सत्ता बहिर्गमनमा परेपछि नेकपा माओवादी केन्द्रलाई पार्टी संगठनको चिन्ता जागेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पटकपटक धोका पाएका कांग्रेस–एमालेबीच सत्ता सहयात्रा भएसँगै सो दलले पार्टी र जनताबीचको सम्बन्ध टुटेको निष्कर्ष निकालेको हो।

पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा पूर्वप्रधामनमन्त्रीसमेत रहेका प्रचण्डले पार्टी र जनताबीचको सम्बन्ध टुटेको अनुभूति दर्शाए । दाहालले बैठकमा पार्टीभित्र देखिएका समस्या, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, पछिल्लो राजनीतिक घटनाक्रम र भावी योजनाबारे बैठकलाई जानकारी गराएका थिए।

बैठकमा अधिकांश नेताले पछिल्लो राजनीतिक अवस्था, विचारको विकास, पार्टी निर्माण तथा भावी योजनाबारे आ–आफ्ना विचार राखेका थिए। सोही क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले एमालेसँग बृहत् वामपन्थी एकताको स्वच्छ भावना राखेर पछिल्लो समीकरण बनाएको तर, केपी ओलीले धोका दिएको बताए। उनले अघिल्लोपटक दुवै दललाई दुई–दुईपटक धोका दिएर सत्ता सहयात्राको काँध फेरेका कारण यो परिस्थिति आएको विषयलाई बैठकमा उच्चारण नगरेको माओवादीका एक पदाधिकारीले बताए ।

उनले भने– ‘सत्ता सहकार्यका सन्दर्भमा हाम्रो अध्यक्षका पनि केही कमजोरीहरू रहे । कहिले कोसँग कहिले कोसँग सहयात्रा गर्न खोज्दा धेरै चिजहरू बिग्रिएको अवस्था छ । उनले सरकारमा हुँदा पार्टी संगठनका विषयमा समेत चासो दिन भ्याएको थिएन । यद्यपि, अब देशव्यापी रूपमा पार्टी संगठनलाई क्रियाशील बनाउने उहाँको योजना सिंगो माओवादीको योजना भएकाले हामी त्यहीअनुसार अघि बढ्छौं ।’ केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक समापन गर्दै मंगलबार उहाँले जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्ष निकाल्नुभएको छ । सत्तामा हुँदा पार्टीप्रति ध्यान नदिएका दाहालले पार्टीको बैठक समापनमा बोल्दै देशभर जनतामाझ जाने प्रतिबद्धता जनाउनुभएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘पार्टी अध्यक्ष ‘प्रचण्ड’ले देशभर जनताको सुख–दुःख बुझ्न जाने इच्छा राख्नुभएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने– ‘जनतासँग माओवादीको सम्बन्ध टुटेको छ। त्यसका लागि देशभर जनताको सुख–दुःख बुझ्न जान्छु। त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ भनेका छन्।’

पार्टीको विस्तृत योजना र कार्यक्रम स्थायी समितिले बनाउने र भदौमा बस्ने केन्द्रीय समिति बैठकले भावी कार्यायोजना बनाएर जनतामाझ जाने तयारीमा रहेको सापकोटाले बताए। गत निर्वाचनमा नेपाली कांग्रेससँगको चुनावी गठबन्धन गर्दासमेत ३२ सिटमा खुम्चिएको माओवादीले कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर डेढ वर्ष सत्ताको नेतृत्व गरेको थियो।

त्यस्तै, संसदीय अंकगणितमा कमजोर देखिए पनि प्रदेश सरकारमा समेत मस्ती गरेको माओवादी अहिले एकैपटक सबै सरकारबाट बाहिरिएको छ। सत्ता बाहिरिनुपर्दाको छटपटीले पोलेको उक्त दलका अध्यक्ष ‘प्रचण्ड’ले आन्दोलन गर्नेसम्मको अभिव्यक्ति दिइसकेका छन्। यद्यपि, केका लागि आन्दोलन भन्ने विषय उनको राजनीतिक जीवनमा महत्वपूर्ण प्रश्न बन्न सक्छ।

खस्कँदो पार्टी संगठन सुदृढीकरणका लागि सरकार, सदन र सडकबाट संगठन परिचालन गर्ने नीति लिए पनि सरकारमा हुँदा संगठनात्मक गतिविधि निकै कमजोर बनेको माओवादी अहिले जनतामाझ जाने एजेन्डालाई मूल विषय बनाएको नेताहरूले बताएका छन्। लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाजवादमा आधारित संविधानको अपनत्व लिएर व्यवहारमा लागु गर्नुपर्ने बैठकमा अधिकांश नेताहरूले धारणा राखेका छन्।

देशभक्त र अग्रगमन पक्षधरसँग मोर्चाबन्दी गर्दै कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि निरन्तर काम गर्नुपर्ने, समाजवादी मोर्चालाई विस्तार गर्ने र समाजवादको सपना पूरा गर्न माओवादीले नेतृत्वदायी भूमिका खेल्ने निर्णय भएको प्रवक्ता सापकोटाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार