काठमाडौं : अन्तर्राष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले विवाह गरेको खुलासा भएको छ । छिमेकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभाले एक टेलिभिजन कार्यक्रममा आफू अविवाहित भएको बताएकी थिइन् । तर उनले भारतीय युवक शैलेन्द्र नन्द अर्थात् बाल प्रभूजी महाराजसँग १६ वर्षको कलिलै उमेरमा विवाह गरेको खुलासा भएको हो ।
उनका श्रीमान उत्तर प्रदेश निवासी शैलेन्द्र पनि कथावाचक रहेका छन् । उनीहरु विवाह वन्धनमा बाधिएको तस्विर पनि सार्वजनिक भएको छ। तर उनले एपी वान टेलिभिजनलाई केही दिनअघि दिएको एक अन्तरवार्तामा आफू अहिलेसम्म अविवाहित रहेको तर भविष्यलाई कसैले पनि देख्न नसक्ने बताएकी थिइन् ।
साथै उनले भोलि के हुन्छ स्वीकार गरौंला भन्दै जवाफ फर्काएकी थिइन् । अन्तरवार्ता प्रस्तोता प्रकाश सुवेदीले प्रतिभालाई प्रश्न गरेका छन्, ‘भविष्यमा के गर्ने त ? यसैगरी कथावाचन गरेर मात्र हिँडिरहने कि विवाह वन्धनमा पनि बाँधिने ?’
उनले जवाफ दिँदै भनेकी छिन्, ‘यस्तो हो, भविष्यलाई कसैले पनि देख्न सक्दैन । भगवानले पनि स्वीकार गर्नुभएको छ, गृहस्थ धर्मलाई । गृहस्थ आश्रममा प्रवेश गरेर भगवत प्राप्त गर्न सकिन्छ । भगवानलाई पाउन साधु-सन्त नै बन्नुपर्छ, बनमा गएर भगवान खोज्नुपर्छ भनेर कहीँ पनि लेखिएको छैन । मलाई गृहस्थ आश्रमबाट केही दिक्कत छैन । मत भन्छु सबैभन्दा उत्कृष्ट आश्रम हो । म आफूलाई सन्न्यासी साधुसन्त बनेर चिनाउन चाहन्न ।’
यस्तै सुवेदीले अर्को प्रश्न साध्दै भने, केही सोच्नुभएको छ त ? उनको जवाफ थियो, भोलिको प्लान आज गरेर चल्दैन । भोलि के होला भन्ने सोच्नमा विश्वास गर्दिनँ । आज जे होला होला । भोलि के हुन्छ स्वीकार गरौंला । तर उनले यो कुरा झुट बोलेको सावित भएको छ । यस्तै अहिले उनले पशुपति कोटीहोम सहभागी भएपछि लिएको पारिश्रमिकका बारेमा पनि बहस भइरहेको छ ।
भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सहभागी भएकी थिइन् । तर उनी मंगलबार यहाँबाट विदाइ भएकी छिन् । उनको जन्म नेपालको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा भएको थियो । हाल उनी भारतको बृन्दावनमा बस्दै आएकी छिन् ।





