बिराटनगर : सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ ।
मंगलबार अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ डब्लु बी ७४ एस २५३१ नम्बरको भारतीय कारलाई सोही स्थानमा छोडेर चालक जंगलतर्फ भागेकोमा प्रहरीले लखेट्दै जाँदा समेत चालक नरोकिएपछि प्रहरीको टोलीले चाईनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो ।
हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए भने कार चेकजाँच गर्दा कारभित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थाको १ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । फरार भएका कार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यस्तै सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेसँगै ईटहरी उप-महानगरपालिका-१७ का २० बर्षीय अब्बास मिया र २८ बर्षीय मो.सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००३ प ७०७० नम्बरको मोटरसाईकलबाट लुकाई छिपाई ल्याउदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक बेलका नगरपालिका-९ का २४ बर्षीय प्रबिन राई र मोटरसाईकलमा पछाडी सवार बेलका -७ का २१ बर्षीय रोशन राईलाई बेलका -१ बाट पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।