काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशैभरी फैलिरहेको हैजा सङ्क्रमणबारे संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ।
सभामुख देवराज घिमिरेलाई भेटेर रास्वाका सांसदहरूले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र दूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन्।
रास्वपाकी सांसद डा. तोसिमा कार्कीले मुलुकमा फैलिदो हैजा सङ्क्रमणलाई नियन्त्रण गर्न तत्काल ध्यान नदिने भयावह स्थित आउन सक्ने भन्दै सभामुखमार्फत् ध्यानाकर्षण पत्र दर्ता गराएको बताइन्।
यस्तो छ रास्वपाको ध्यानाकर्षण पत्रः
हैजा एक तिव्र सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो। वर्षाको समयमा देखिने यो रोगका कारण मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ। तिव्र सङ्क्रामक भइ महामारीका रूप लिन सक्ने हैजाका बिरामी यस वर्ष पहिलोपटक साउन ७ गते ललितपुरको एक रिह्याव सेन्टरमा देखिएको थियो। हालसम्ममा ५ जिल्लामा यस रोगको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मिति २०८१/०४/२६ गतेको रिपोर्ट अनुसार देशभरि ४७ जना हैजाबाट संक्रमित भएका थिए। जसमध्ये ललितपुरमा ३४ जना, कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौंमा २ जनार रुपन्देहीमा १ जना रहेका थिए। पछिल्लो जानकारी अनुसार २०८१/०४/२८ सम्ममा पुनः ३ जना सङ्क्रमित थप भई देशभर कुल ५० जना सङ्क्रमित रहेका छन्।
यस सङ्क्रमण दरलाई यथाशीघ्र नियन्त्रण नगरिएमा यसले महामारीको रूप लिइ स्वास्थ्य संकट सृजना गर्नसक्ने आकस्मिकतालाई अवमूल्यन गर्न सकिँदैन। तसर्थ, मिति २०८१/०४/२१ गते ३० जना सङ्क्रमित सङ्ख्या पुगेको जानकारी प्राप्त हुने वित्तिकै हामीले हैजाको सम्भावित महामारी नियन्त्रण र दूत प्रतिकार्यप्रति संवेदनशील बनी यथाशीघ्र आवश्यक कदम चाल्नुहुन अनुरोध गर्दै मिति २०८१/०४/२४ गते हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयलाई समेत पत्राचार गरिएको थियो यद्दपी हैजाको संक्रमण हुनेको संख्या ५० नाघी सकेको अवस्था छ ।
हैजा नियन्त्रण गर्न र महामारीका रुपमा फैलन नदिन सबैमा पानी शुद्धिकरण गरेर मात्र प्रयोग गर्ने भन्ने बारे जनचेतना फैलाउनु पर्ने हुन्छ। साथसाथै पानी वितरण गर्ने निजी तथा सरकारी संस्थाहरुलाई पानी अनिवार्य क्लोरिनेशन गर्न लगाउने र त्यस बारे समयसमयमा निरीक्षण पनि गरिनुपर्छ। यसका साथै वर्षाको समयमा ढल फुट्ने, वाढीका कारण फोहोर वगेर आउने र पानीका मुहानहरु दुषित हुने हुँदा पानीका स्रोतहरुलाई ढाक्ने सफा राखे, पानी संकलन गरिने ट्याङ्कीहरुमा पानी शुद्धिकरण गर्ने गर्नुपर्छ । हैजाको सङ्कण देखिएका क्षेत्रहरुमा व्यापक जनचेतना कार्यक्रम गर्ने, पोष्टर तथा प्याम्पलेटहरु टास्ने, निःशुल्क पिउस् प्लस वितरण गर्ने, पानी शुद्धिकरणका विधिहरु सिकाउने कार्यक्रम गर्ने जस्ता कार्यहरु तिव्र रुपमा गर्नुपर्छ। नेपाल सरकारका विभिन्न तहमा यस सँग सम्बन्धित निकायहरु सबैमा कार्यविभाजन गरी कुशल कार्यसम्पादन गरिनुपर्ने हुदा, सबै निकाय विचको समन्वयको लागि समेत मन्त्रालयहरुले ध्यान दिनुपर्छ ।
हैजा महामारीका रुपमा फैलिएमा नियन्त्रण गर्न कठिनहुन सक्ने र धेरै व्यक्तिहरुको ज्यान समेत जान सक्ने हुदा, समय मै व्यापक रुपमा प्रभावकारी कार्यक्रमहरु गरी यसलाई निराकरण गर्नु आवश्यक छ। तसर्थ जन स्वास्थ्यसँग सम्बन्धित यो संवेदनशिल विषयमा यस गरिमामय संसद मार्फत सम्वन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराउनु हुन अनुरोध गर्दछु।





