काठमाडौँ : भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
उनले मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए। उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने पनि खुलेको छैन।
उनले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको छ । दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए। मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएकाे थियाे। त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो।
बिहीबार दिउँसो गट्ठाघरमा बा३९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो। पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो। तर, मृतकको सनाखत भने अझै भएको छैन।





