काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशनको तयारी गरिएको छ ।
आजदेखि पार्टी कार्यालय वनस्थलीमा सुरु हुने केन्द्रीय समिति बैठकमा ढकालको निष्काशनबारे छलफल गरेर आवश्यक निर्णय गर्न लागिएको हो । एक पदाधिकारीले बुधबारको बैठकबाट ढकालको विषयमा निर्णय गर्नुपर्ने अवस्था रहेको बताए । ‘समय रहे निर्णय गर्छौं । उहाँ साधारण सदस्य नरहने गरी कारबाही हुने सम्भावना बढी छ ।’ पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् ।
उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ । असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो ।





