काठमाडौँ : गएको मंगलबार (भदौ ४ गते) मध्यराति महोत्तरीको जलेश्वर नगरपालिका- ८ रमौली निवासी रोहण राउतकी १९ वर्षीया पत्नी रिना राउत (यादव)को रहस्यमय मृत्यु भयो। विवाह गरेको पाँच महिना नपुग्दै आफ्नै घरमा भएको रिनाको मृत्युलाई माइती पक्षले स्वाभाविक रुपमा लिएका छैनन्। दाइजोको कारण परिवारका सदस्य मिलेर उनको हत्या गरेको दाबी माइती पक्षको छ।
रिनाको मंगलबार मध्यराति आफ्नै घरमा रहस्यमय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बुधबार बिहान प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको थियो।
रिनाको हत्या भएको दाबीसहित माइत पक्षले पति रोहन, ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। मंगलबार धनुषाको हंसपुर नगरपालिका- ६ सोनीगामास्थित माइती घर गएर रिना भाइलाई राखी बाँधेर सकुशल घर फर्केकी थिइन्। रिनाको सोही राति शंकास्पद मृत्यु भएको हो।
राति एक्कासी स्वास्थ्य खराब भएको भन्दै पतिसहित परिवारका सदस्यले रिनालाई अस्पताल पुर्याएका थिए। जलेश्वरस्थित प्रादेशिक अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। त्यसपछि शव घर फर्काइएको थियो।
रिनाका बुवा नवल राउतले छोरीमा अहिलेसम्म कुनै रोग वा समस्या नरहेको बताए। दाइजो कम ल्याएको भन्दै बिहे भएदेखि नै रिनालाई परिवारका सदस्यले शारीरिक र मानसिक यातना दिँदै आएको आरोपसमेत उनले लगाएका छन्। अस्पताल पुर्याउँदा युवतीको मुखबाट रगत र घाँटीमा बिमिरा जस्ता केही खत देखिएको प्रहरीले जनाएको छ। गएको वैशाख १९ गते १५ लाख रुपैयाँ खर्चेर रोहण राउतसँग रिनाको विवाह गरिदिएको बुवा नवलकाे भनाइ छ।