रसुवा : वर्षाका कारण कैलाश मानसरोवर जाने चीन तर्फको भू–भागमा शुक्रबार रातिदेखि अवरुद्व सडक आइतबारदेखि सञ्चालनमा आएको छ।
केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभाग अन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन्।
सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका थिए। रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्याई गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिए।
रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए।





