हेटौंडा : मकवानपुरको हेटौंडा- १० भुटनदेवी मन्दिर रोडमा रहेको रत्न होटलको कोठामा युवती मृत फेला परेकी छन् ।
आइतबार साँझ होटलको कोठा लिएका अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौंडा–११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) लक्ष्मी भण्डारीका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ ।
न्यौपाने आइतबार साँझ करिब ५ बजेतिर एक युवकसँग होटल पुगेकी थिइन् । सोमबार बिहान अबेरसम्म होटलको कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
न्यौपानेसँगै आएका युवकले उनको हत्या गरेर भित्रबाट कोठाको ढोका बन्द गरी झ्यालबाट भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरुले मदिरा र खाजा मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निस्किएको दृश्य सीसी क्यामेरामा कैद भएको प्रहरीले बताएको छ ।
मृतक युवतीको शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान प्रक्रियाअघि बढाइएको र युवतीसँगै बसेका युवकको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।