काठमाडौँ : अहिले मन्त्रीहरुलाई भाषण गर्न भन्दा पनि काम गर्न उत्प्रेरित गर्नुपर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । ‘अहिले मन्त्रीहरूलाई भाषण होइन काम गर्न सबैले उत्प्रेरित गर्नु पर्छ, निजी क्षेत्रहरुको छाता संगठन छन्, अरु सम्बद्ध संगठन छन्, तपाईंहरूले महत्त्वकासाथ बोलाउनु हुन्छ,’ भृकुटिमण्डपमा मंगलबार १६औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै उनले भने, ‘नआउँ यथोचित आदर र मर्यादा भएन भन्ने लाग्छ, आउँ भाषण सुन्न र गर्नमा मात्र समय व्यथित हुन्छ ।’
त्यसैले अर्थमन्त्रीले सुन्नै पर्ने, बुझ्नै पर्ने र गर्नै पर्ने कामका लागि जुनसुकै बेला सुझाव लिनका लागि स्वागत गर्न तयार रहेको उनले बताए । ‘यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भनेर सहजीकरण गरिदिन आग्रह गर्न चाहन्छु,’ उनले भने ।
नीतिगत स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको उनले बताए । ‘राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता खोजेर पाउनु हुन्न, अहिले बनेको यो सरकार स्थिर हो,’ उनले भने, ‘यसले नीतिगत स्थिरताको बलियो आधार दिएको छ ।’
नीतिगत स्थिरता सुनिश्चित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने उनको भनाइ छ । भदौ १६ गतेसम्म चल्ने अटो शोमा १ सय ३० वटा स्टल राखिएको छ । जसमा ८० प्रतिशत हाराहारी विद्युतीय सवारीसाधन सम्बद्ध स्टलहरू रहेको अटो शोका संयोजक अनुप बरालले बताए ।





