प्याजको भाउ महँगियो

२०८१ भाद्र १२, बुधबार

काठमाडौँ : पछिल्लाे एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपियाँ थोकमा कारोबार भएको छ । जबकि एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपियाँ थोकमा कारोबार भएको थियो । खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपियाँमा कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको छ । समितिका प्रव्रक्ता विनय श्रेष्ठले बजारमा प्याजको आगमन आधाले घटेसँगै भाउ महँगो भएको जानकारी दिए । उनका अनुसार प्याज महँगो हुनुका कारण व्यापारीसँग बुझ्दा भारत सरकारले प्याज निर्यातमा कडाइ गर्न निर्यात महसुल वृद्धि गरेकाले यसको असर नेपाली बजारमा देखिएको बुझिएको छ ।

कालीमाटी बजारका आलु प्याज आयातकर्ता भरत उप्रेतीले भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको त्योसँगै भन्सार जोडिएर आउँदा भाउ महँगो भएको जानकारी दिए । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले केही दिनअघि प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको जनाइएको छ । भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी ४५ भारु खुद्रामा कारोबार भइरहेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरी मौज्दात रहेको प्याजको मन लाग्दी मूल्य राखेर बिक्री गर्न थालेका छन् ।

भारतको निर्यात महसुल वृद्धि गर्ने नीतिले महँगी बढ्नु स्वाभाविक भए पनि तुरुन्तै बढ्नु स्वाभाविक नभएको तर्क उपभोक्ता अधिकारकर्मीले गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा देखिएको  अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नियामक निकाय चनाखो हुन नसक्दा परिणाम हो भने । बजार अनुगमन र मूल्य नियन्त्रणको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमन गरेर बढी मूल्य लिने व्यावसायीलाई कारबाही तथा जरिबाना गरेको जनाएको छ ।

विभागले अस्वाभाविक रूपमा प्याजको भाउ बढेको उजुरी विभागमा अहिलेसम्म नआएको र यस विषयमा भोलिदेखि नै निगरानी बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार