पारा ओलम्पिकमा पलेशाले जितिन् कांस्य पदक

२०८१ भाद्र १५, शनिबार

काठमाडौं : नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।  फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।

रिपाचेजमार्फत कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो। नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन। जितपछि पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको र जितको खुसी आफूले बयान नै गर्न नसकिने बताए।

देशलाई ऐतिहासिक पदक दिलाउन पाउँदा धेरै खुसी रहेको उनी बताउँछन्। लामो समयपछि लक्ष्य र तपस्या पूरा भएको उल्लेख गर्दै प्रशिक्षक लामाले ऐतिहासिक पदकसहित देश आउन आतुर रहेको बताएका छन्। पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन्।

उनले राउन्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो सुरुवात गरेकी थिइन्। तर, क्वार्टरफाइनलमा विश्व नम्बर ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन्। यद्यपि, उनले रिपाचेजमार्फत कांस्य पदकको लागि भएको प्रतिस्पर्धामा सफलता प्राप्त गरिन्। पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन्।

सन् २०२० पारालिम्पिकमा पनि उनी कांस्य पदकको प्रतिस्पर्धामा चुकेकी थिइन्। पारा तेक्वान्दोका पहिलो खेलाडी यादव कुँवर हुन्। उनले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। उनले सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य र सन् २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए।

हाल क्यानडामा रहेका यादवले पलेशाको सफलतासँगै जीवनको ठूलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए। पारा तेक्वान्दोमा आफूले देखेको सपना पलेशाले पूरा गरिदिएको उनको भनाइ छ। पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवरले पनि पलेशालाई बधाई दिँदै आफ्नो अधुरो सपना पूरा भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार