काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले भदौ १९ गते सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरिन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकले ओलीको फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका बेला झाँक्रीले लेखिन्, ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’
२०७७ पुस ५ र २०७८ वैशाख ८ मा दुईपटक संसद् विघटन गरेपछि ओलीप्रति निकै आक्रामक माधवकुमार नेपालसहितका नेताहरूले एमालेबाट विद्रोह गर्दै एकीकृत समाजवादी बनाएका थिए। एकीकृत समाजवादी गठनमा झाँक्रीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। त्यसयता उनी ओलीको कटु आलोचकका रूपमा देखिन्थिन्।
तर, पछिल्लो समय उनी एमालेमै फर्किन खोजेको चर्चा छ। खासगरी एकीकृत समाजवादीमा उनको मनमुटाव बढ्दै गएको छ । एमालेबाट ‘ग्रिन सिग्नल’ पाएरै झाँक्री ओलीको पक्षमा खुलेर बोलेको स्रोतहरूको भनाइ छ। उनले एकीकृत समाजवादीका केही नेतासँग यसबारे कुरा गरिरहेकी छन्।
उनै झाँक्री भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथ लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगिन्। ओलीले प्रष्टसँग भनिदिए, ‘आउन सक्नेलाई लिने।’ अर्थात्, समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई लिन ओली तयार रहेको सन्देश दिए।