सुनसरी : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद जीवन आचार्यले कांग्रेस-एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने बताएका छन् ।
अखिल (क्रान्तिकारी) सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा आचार्यले माओवादीले जनतालाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । ‘देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलाउँदा भ्रष्टाचारी एकै ठाउँमा आएर सरकार ढाल्ने काम भयो’, उनको जिकिर थियो ।
माओवादी र प्रचण्डले चाहने हो भने ओली सरकार चाहेको दिनमै ढल्ने उनको दाबी छ । तर, अहिले माओवादीलाई सरकार नचाहिएको आचार्यको भनाइ छ ।आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने उनले बताए ।