हेटौँडा : हेटौँडा–काठमाठौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खसेर सवार मान्छेलाई लाग्दा दुईजना घाइते भएका छन् ।
शुक्रबार बिहान कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी –८ च्यासुर खोलानजिक हेटौँडाबाट ठिङ्गन हुँदै काठमाडौँ जादै गरेको बा ६५ प ४२६३ नम्बरको मोटरसाइकलमा सडकमाथि भिरबाट ढुङ्गा खसेर लाग्दा दुईजना घाइते भएका हुन् । मोटरसाइकल चालक बारा कलैया –८ बस्ने ४२ वर्षीय मंसुर मियाँ अन्सारी र सोही मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३२ वर्षीय नरेन्द्र माली घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मोटरसाइकल गुडिरहेको अवस्थामा ढुङ्गा खसेर उनीहरूलाई लागेको थियो । दुवैको इलाका प्रहरी कार्यालय ठिङ्गनको टोलीले उद्धार गरी उपचारका लागि पठाइएको उनले जानकारी दिए । मोटरसाइकल सडकबाट ३० मिटर तल भिरमा अड्किएको र निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।