काठमाडौँ : सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ ।
उक्त सहकारी कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको छानबिनमा खुलेको छ । बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीवी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको अनुसन्धानमा खुल्न आएको छ।
संसदीय छानबिन विशेष समितिका एक सदस्यका अनुसार ‘तीनमध्ये दुई जनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालन भएको र रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएको पाइएको छ । कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको अनुसन्धानमा खुल्न आएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेले कम्पनी आयव्ययप्रति आफूलाई थाहा नहुने गरेको बताएपनि कम्पनीको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा भने अध्यक्षको ठाउँमा गितेन्द्रबाबु (जीवी) राई र प्रबन्ध निर्देशकका रूपमा रवि लामिछानेको हस्ताक्षर भेटिएको छ।
प्रमाणका आधारमा लामिछानेसहित ९ जनालाई दोषी ठहर गरी थप कारबाहीका लागि सरकारलाई लेखी पठाउने सहमति भएको एक सदस्यको भनाई छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीवी राई, रवि लामिछाने, छविलाल जोशी, कुमार रम्तेलसहित जम्मा ९ जनाको दोष देखिएकाले उनीहरूमाथि कारबाही गर्न सरकारलाई लेखी पठाउने निष्कर्ष भएको हो ।
आज बिहान ११ बजे अन्तिम बैठक बसेर हस्ताक्षर गरिने र १ बजे सभामुखलाई बुझाउने तयारी गरिएको भएपनि अन्तिम बैठकपछि मात्र विषयवस्तुबारे प्रस्ट हुन सकिने समितिका सदस्यले बताएका छन् ।