काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषय अनावश्यक रुपमा उचालिएको टिप्पणी गरेका छन् ।
संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उपसभामुख रानालाई हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की नै भएको थियो ।
प्रधानमन्त्री ओलीले सोही विषय सोमबारको प्रतिनिधिसभा बैठकमा उल्लेख गर्दै प्रस्ताव नै नआएको विषयमा कसरी छलफल भयो भनी प्रश्न समेत गरे ।
कहीँ कसैले बाहिर भनेको विषयलाई लिएर संसदमा गालीगलौजको शैलीमा प्रस्तुत हुने कुरा शोभनीय नभएको भन्दै प्रधानमन्त्री ओलीले बोली र व्यवहारमा आँच आउने खालका काम नगर्न पनि सांसदहरुलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले सांसदहरुका सामाजिक क्रियाकलापको प्रभाव समाजमा पर्ने भएकाले ख्याल गरेर अघि बढ्न सुझाव समेत दिए ।